FAQs Complain Problems

रामप्रसाद राई गाँउपालिका को संक्षिप्त परिचयः

कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको ९ वटा स्थानीय तहहरुमध्ये रामप्रसादराई गाउँपालिका एक हो । भोजपुर जिल्लाको दक्षिण-पश्‍चिम भू-भागमा अवस्थित यस स्थानीय तहको नामाकरण वि. सं. २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट गरिएको छ । भोजपुर नगरपालिकादेखि दक्षिण, पौवादुङ्‍मा गाँउपालिकादेखि पश्‍चिम, हतुवागढी र आमचोक गाउँपालिकादेखि उत्तर र खोटाङ्ग जिल्लादेखि पूर्वमा अवस्थित यस गाँउपालिका १५६.२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।

साविक केन्द्रीय तथ्यांक विभागले गरेको पछिल्लो जनगणना अनुसार यस गाउँपलिकामा जम्मा घरधुरी संख्या ३,७०९ रहेको छ भने पुरुष संख्या  ७,७३४ र महिला ७,९३९ गरी जम्मा जनसंख्या १५,६७३ रहेको छ  (श्रोतः राष्ट्रिय तथ्यांक कार्यालय, २०७८) ।

यस गाउँपालिका अन्‍तर्गत जम्मा ८ वटा वडाहरु रहेका छन् । वडा कार्यालयहरुमा क्रमशः १ नं वडा कार्यालय ओख्रे, २ नं वडा कार्यालय धोद्लेखानी, ३ नं वडा कार्यालय भुल्के,  ४ नं वडा कार्यालय दलगाउँ,  ५ नं वडा कार्यालय मानेभञ्ज्याङ्ग, ६ नं वडा कार्यालय बैकुण्ठे, ७ नं वडा कार्यालय वासिखोरा र  ८ नं वडा कार्यालय खोक्सिक रहेका छन् । १ नं देखि ६ नं सम्मका वडाहरु साविकका सोही नामका गाउँविकास समितिहरु हुन् भने साविकको वासिखोरा गा.वि.स. लाई विभाजन गरी २ वटा वडाहरु (७ र ८ )मा विभाजन गरिएको हो ।

यहाँको अधिकतम तापक्रम ३२.२˚से. र न्यूनतम तापक्रम ०.१०˚से. र वार्षिक वर्षा १००५.९ मी.मी. देखि २१२३ मी.मी. सम्म हुने गरेको पाईन्छ भने सापेक्षिक आद्रता वर्षायाममा ९०% र हिउँद याममा ५०% देखि ७०% सम्म पाईएको छ । यहाँको औषत वार्षिक वर्षा १२०८ मी.मी. रहेको छ ।

राज्यको पुनर्संरचना अगाडि भोजपुर जिल्लाको जम्मा १३ ईलाका मध्ये इलाका नं. १० अन्तर्गतको जम्मा ४ गाविसहरु ओख्रे, धोद्लेखानी, भूल्के, दलगाउँ र इलाका नं. ११ अन्तर्गतको  मानेभञ्ज्याङ्ग, वैकुण्ठे र बासीखोरा मिलेर हालको रामप्रसादराई गाउँपालिका बनेको हो ।

टोल/बस्ती  संख्या १७७ रहको छ  । यस गाउँपालिकाको केन्द्र बैकुण्ठे (चिलाउनेटार)बजार जुन भोजपुर सदरमुकामदेखि जम्मा २९.६० कि.मी. रहेको छ ।

राई जातीको उल्लेख्य संख्या रहेको यस गाउँपालिकामा बसोबास गर्ने अन्य मुख्य जातजातीहरुमा क्षेत्री, ब्राह्मण, तामाङ, मगर र दलितहरु रहेका छन् । पछिल्लो जनगणनामा यस गाउँपालिकामा पुरुष ८५.४८% र महिला ७१.५२% गरी औषतमा ७८.३८% साक्षरता रहेको देखिएको छ ।

 

जन प्रतिनिधि